Thursday, August 19, 2021

राजा र सुगाको कथा

 एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छ-

"सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला , भन उनिहरूलाई के कुरा सुनाइदिऊँ ?"
यो सुने पछी सुगाले गहभरी आँशु पार्दै भन्छ,
"मेरा बाबा आमालाई यो भन्दिनुस् नि म पिञ्जडाबाट छिटोभन्दा छिटो बाहिर आउन चाहन्छु ।"
जब राजा जङ्गलमा पुग्छन् उनको भेट सुगाका बाआमासँग हुन्छ र राजाले उनिहरूको सन्तानले भनेको सबै कुरा बताउँछन् । राजाको यस्तो कुरा सुने पछी दुबै दम्पतीले आफ्नो सन्तानलाई पिञ्जडाबाट मुक्त गरिदिनका लागि राजासँग अनुनय बिनय गर्छन् तर राजाले सुगालाई मुक्त गर्न नसक्ने बरू उसकालागी केही सन्देश वा चिट्ठी पत्र भए चाँही लगिदिने बताउँछन । राजाको यस्तो कुरा सुने पछी सुगाका दुबै दम्पती तत्काल बेहोस् भएर भुइँमा ढल्छन् ।लामो समयसम्म पनि उनिहरूको होस नखुले पछी उनिहरू मरेको ठानी राजा आफ्नो बाटो लाग्छन् ।


जब राजा जङ्गलबाट दरबारतिर फर्कन्छन् तब हतार हतार पिञ्जडाको सुगाले सोध्छ-
"महाराज , मेरा बाआमाले मलाई के सन्देश पठाएका छन ?"
राजाले नाक खुम्च्याउँदै भन्छ-
"तिम्रा बाआमाले कुनै सन्देश पठाउन पाएनन् । जब उनिहरूले तिम्रो बारेमा सबै कुरा सुने तब उनिहरूले मसँग तिमीलाई मुक्त गरिदिन भने । मैले मुक्त गर्न नसक्ने बताएपछी दुबै जना बेहोस् भएर लडे,शायद उनिहरू बेहोस् नभएका भए पक्कै तिमीलाई केही न केही सन्देश पठाउँथे होला। उनिहरू बेहोस् भएको देखेर लाग्यो साँच्चै नै उनीहरूले तिमीलाई धेरै माया गर्दा रहेछन् ।"
राजाका यी कुरा सुगाले सुनेको मात्र के थियो ऊ तुरुन्तै बेहोस् भएर ढल्छ । जब सुगा बेहोस् भएर ढल्छ तब सुगा मरेको ठानी पानी छर्किनका लागि राजाले पिञ्जडाको ढोका खोलिदिन्छन् । सुगाले पिञ्जडाको ढोका खोलेको के चाल पाएको थियो ऊ तुरुन्तै भुर्र उढेर अग्लो रुखको टुप्पोमा पुग्छ अनी राजा तिर हेर्दै भन्छ-
"देख्यौ त राजा, मेरा बाआमाले मलाई कस्तो सन्देश पठाएका रहेछन् ??"
Moral: जुन जमिनमा तपाईँ घाँस मात्रै उम्रेको देख्नुहुन्छ त्यही ठाउँमा कसैले जीवन बँचाउने जडिबुटी देख्छ । जुन कुरा तपाईँलाई अर्थहीन् लाग्छ त्यही कुरामा कसैले संसार हल्लाउने उपाय भेट्टाउँदछ ।


Saturday, June 12, 2021

बुबा छोराको - कथा

एउटा मान्छे आफ्नो अफिसमा राति अबेरसम्म काम गरी थाकेर घर आउँछ। जब घरको ढोका खुुल्छ, तब देख्छ कि उसको ८ वर्षीय छोरो उसलाई कुरेर बसेको हुन्छ।

जब बुवा घरभित्र छिर्छ, तब छोराले भन्छ "बाबा, के म हजुरसंग एउटा प्रश्न गर्न सक्छु?"

बाबाले अली रिसाउँदै भन्छ "के प्रश्न? भन।"

बच्चाले भन्छ "बाबा, हजुरले एक घण्टामा कति पैसा कमाउनु हुन्छ?"



"यो कुराको तिमीलाई के मतलब यो कस्तो नचाहिने प्रश्न गरेको तिमीले ?" बुबाले चर्को स्वरमा भन्यो।
बच्चाले भन्यो "यतिकै बाबा, म जान्न चाहन्छु कि, हजुरले एक घण्टामा कति पैसा कमाउनु हुन्छ भनेर। please! भन्नुस् न कति पैसा कमाउनुहुन्छ?"

बुवा झन् रिसाउँदै बच्चा तिर हेर्दै भन्यो "१०० रुपियाँ" ।

तब बच्चाले सिर झुकाएर नरम स्वरमा भन्यो "के तपाईंले मलाई ५० रुपियाँ उधारो दिन सक्नुहुन्छ?"

छोराको कुरा सुनेर बुवाले कराउँदै भन्छ "ए तँलाई पैसा चाहिएको थियो, त्यही भएर यस्तो नचाहिने प्रश्न गरिरहेको थिइस?पैसा लिएर नाना थरीका खेलौना किनेर पैसा बर्बाद गर्नलाई। चुप चाप आफ्नो कोठामा गएर सुत छैन मसंग पैसा सैसा। तँलाई कति सजिलो छ है? म दिनभर मेहनत गरेर पैसा जुटाउने अनि तँ चाहिँ चाहिने नचाहिने खेलौना किनेर मेरो पैसा बर्बाद गर्ने?"
बुवाको कुरा सुनेर छोरा केहि पनि नबोली गह भरी आँशु लिएर आफ्नो कोठामा जान्छ। बुवा भने छोराले किन यस्तो प्रश्न गर्यो भनेर गहिरो सोचमा पर्यो। सोच्दा सोच्दै घण्टौं बित्छ अनि उनको रिस पनि शान्त भइसकेको हुन्छ। उसले फेरि सोच्यो कि, छोराले केही जरूरी कामको लागि पैसा मागेको पनि त हुनसक्छ। किनकि आज भन्दा पहिले उसले कहिले पनि यसरी पैसा मागेको थिएन।

अब बुवा उठेर आफ्नो छोराको कोठामा गयो र भन्यो "के तिमी निदाइ रहेकाछौ?"


छोराले जवाफ दियो "छैन बाबा" ।
तब बुवाले आफ्नो गोजीबाट ५० रुपैयाँ निकालेर "मलाई माफ गर है छोरो, मैले तिमीलाई व्यर्थैमा कराएँ । म दिन भरि काम गरेर थाकेको थिएँ । त्यहि बेला तिम्ले त्यस्तो कुरा गर्दा म आबेशमा आएर तिमीलाई कराएछु । तिमीलाई ५० रुपियाँ चाहिएको थियो नि, लौ लेऊ ५० रुपियाँ" भन्दै उसको हातमा थमाई दियो।

छोरो खुशी हुँदै "thank you papa" भन्दै उठेर आफ्नो आल्मारी तिर गयो र आफूले जम्मा गरेको केही सिक्का पैसा निकालेर गन्न थाल्यो।

त्यो देखेर बुवाले भन्यो "तिमीसंग नै यत्रो पैसा थियो भने फेरि किन मसंग मागेको?"

छोराले भन्यो मधुर स्वरमा भन्यो . "किनकि मसंग कम पैसा थियो बाबा । तर अब मसंग १०० रुपैयाँ छ। के म हजुरको एक घण्टा किन्न सक्छु ? बाबा, तपाईं यो पैसा लिनुस् अनि भोलि चाँडै घर आउनुस् किनकि म हजुरसंग बसेर खाना खान चाहन्छु। अनि हजुरसंग केहि क्षण बिताउन चाहन्छु।"

छोराको कुराले बुवाको मन छोयो । बुवाले छोराको आँखामा आँसु भरिएको देख्यो ।

तब बुवाले उसलाई अंगालोमा बेर्दै भन्यो "छोरो अबदेखि म सधैं चाँडै घर आउँछु, अनि तिमीसँगै खाना खान्छु है।"
बाबाको सुनेर छोरा खुशी हुन्छ र उसले पनि जोरले बाबालाई अङ्गाल्दै भन्छ " Thank you ! Love you papa" ।

(आफ्ना छोरा छोरीको लागि पैसा मात्र कमाएर खुसी राख्न सक्नु हुन्न । उनीहरूको साथमा केहि क्षण बिताउँदा, उनीहरूका मनका कुरा सुन्दा बेग्लै खुशी दिन सक्नुहुन्छ । काम गर्न जरुरी छ तर यति पनि व्यस्त नहुनुस् कि आफ्ना छोराछोरीहरु तपाईंको माया-ममता र स्नेहबाट वञ्चित रहुन्।)