“तैँले बिहे गरिस् भने त गीत गाएरै पाल्छे यार । कृष्ण दाईले बारम्बार यहीँ कुरा दोहोर्याइरहन्थे । मलाई हाँसो लाग्थ्यो। नेपालका चर्चित गायक गायिकाहरु आफ्नो जीवन धान्न नसकेर अमेरिका भासिरहेका बेला दाईको दाबी देख्दा हाँसो लाग्दो नै थियो ।
घरको अवस्था, पारिवारिक परिवेश अनि आफ्नो बढ्दो उमेर सबै कुराले मलाई निरन्तर बिहेको निम्ति प्रेशर गरिरहेका थिए । घरको जेठो छोरो भएकोले केही तनाव पनि थियो । आफन्त छिमेकी सबैले बिहे गर्न बारम्बार सम्झाइरहन्थे। यस्तै परिवेश बुझेर होला सायद कृष्ण दाईले बिहेको कुरा गरिरहन्थे ।
बडिगाढ खोलाको तिरमा दिब्रुङ्ग, सालिमे जस्ता तपोभूमिले घेरिएको गाँऊ साँच्ची सुन्दर थियो ।
कृषि क्षेत्रमा ऐतिहासिक गाउँ । साँच्ची राम्रो लाग्थ्यो । राजनीति लगायत अन्य बिबिध कारणहरुले गर्दा म त्यो गाँउमा घुम्नजाने अवसर मिल्थ्यो पनि ।
प्रकाश र म बरारुखको पोखरी निर थियौँ । पसलमा आउने जाने फाट्टफुट्ट देखिन्थे। दुईतर्फ रिबन बाँधेकी, रातो कुर्ता र जिन्सको पाईन्ट लगाएकी सानी केटीसित दुई जना केटाहरु आएका थिए । दुबैले त्यस केटीलाई यो किन्देर त्यो किन्दे भनेर सताईरहेका थिए। ऊ पनि झिँजि सकेकिथीइन । २(३ वटा मिठाई किनी र २ किलो जति चिनी किनेर ति केटी घर तिर लागिन् । सानीसानी ति केटिलाई प्रकाशले जिस्क्यायो । केटी जोडले दौडी । सायद ठानी होली च्याप्प समाएर लैजालान् । पहिलेको समय क्रम पुनर्याद भयो ।
ती क्याम्पसका दिनहरु सम्झिन्छु , एक मनले स्वतन्त्रता प्राप्तिका निम्ति लडेका ऐतिहासिक दिनहरु थिए। विद्यार्थी कालमा विभिन्न बहानामा जोडिन चाहने मनहरुका कथा अझै रोमाञ्चक लाग्छ । प्रेम गर्ने अनि घुम्ने समयमा विभिन्न अभावका घेराहरुमा कैद भएर जिऊ पाल्ने कामलाई मात्र आदर्श ठानियो ।
कहाँ प्रेमका कुरा कहाँ लैला मजनुका कुरा सबै अनावश्यक थिए । आज जीवन जिउन त्यति धेरै संघर्ष गर्ने अवस्था छैन । तर ती सुन्दर साथी, समय र परिवेशको अभाव छ । सायद यस्तै अभाव र प्रभाव विचको समय नै जीवन होला ।
घरमा एकाएक बिहे गर्ने कुरो चलेपछि मन तनावमा छ । कस्ती होली ? के गर्दै होली ? र मेरो मन बुझ्छे कि नाई ? जस्ता अनेकौँ प्रश्नहरुको उत्तर कल्पन्छु तर के गर्नु मेरो मनले उत्तर दिन सक्दैन । जसरी आज मेरो मनमा उसका काल्पनिक दृश्यहरु झल्किएका छन् । त्यसरी नै उसको मनमा पनि कुनै कल्पना आए होलान्त ? के गर्नु आफैले आफैलाई प्रश्न गर्छु तर पनि उत्तर खोज्न उसैको मनलाई खोज्दै जीवनका अँध्यारा मोडहरुमा भौंतारिरहेछु ।
प्रविधिको व्यापक प्रयोग हुने समय थियो । फेसबुक बाट खोजेर कृष्ण दाईले देखाए । बायाँ काँधमा कपाल झारेकी, गोरी, रातो कुर्ता लगाएकी। खै आफुले आफैलाई बिर्सिएछु । लाज लागे जस्तो भयो । हेर्नै सकिन पनि । तर जबरजस्त हेर्ने चेस्टा गरेँ । राम्रै लाग्यो ।
पहिलो प्रेम, पहिलो नजर, पहिलो सन्तान, पहिलो कमाई, पहिलो जागिर सबै स्मरणीय हुन्छ भन्ने सुनेको थिएँ । साँच्ची रहेछ । म पनि त्यसको अपवादमा रहन सकिन । कताकता त्यो दिलभित्र पसिहालिछ । प्रत्यक्ष त्यसलाई देख्न नपाईकन फोटो हेर्दै मा मनपयो । तर कृष्ण दाईलाई यो कुरा भन्ने साहस ममा रहेन ।
तस्बिरले मोहित बनाएर हो या के हो उसलाई देख्ने लालसा बढ्यो । साँझ आएर फेसबुकमा खोजें तर ऊ भेट्टिईन । भोलीपल्ट भेटिई ऊ त्यही फोटो त्यही नाममा । उसको फोटो हेरेरै दिन कट्न थाल्यो भन्दा फरक नपर्ने । तर कायर रहेछु सायद फ्रेन्ड रिक्वेस्ट पठाउने साहस मनमा आएन । उसका फोटोमा अरुले गरेका कमेन्ट पढ्ने बाहेक केही काम हुन सकेन ।
कृष्ण दाई निरन्तर प्रयासमा छन् । म पनि उ सँग नबोलेनी हेरेर चित्त बुझाएकोछु । उसको सुन्दरतामा मोहित भएको छु । बाबु भाईले पिकनिकको फोटो ल्याएछ । ऊसले गीतको भिडियोमा पिङ्क कलरको आउटर लगाएर मिठो गीत गाएकी थिई ।
ऊ सँग नजिकिन खोज्थें । तर नजिकिने आधार नै पाउन सकेको छैन । टि। एम। कलेज पढ्छे भन्ने थाहा पाएसी देख्ने लालसा बढेको भने सत्य हो । राजनीतिक कारण देखाउँदै विभिन्न बहानामा कलेज धाउन थालेको थिएँ । तर ऊ भने कहिल्यै भेटिनन।
मनले खाएपछि, अलि मन मिल्ने मान्छे भेटाएपछि, उसकै बारे सोध्न मन लाग्दो रहेछ । मनले खाको हरिलाई सोधेँ । कस्ती छिन उनि ? एकै वाक्यमा उत्तर दियो । ठिक छैन, खत्तम छे यार । त्यो भन्दा त चिम्सी ठिक छ । हरि उसका राम्रा र नराम्रा कारणहरुबारे प्रबचन दिँदै थियो । मैले झोँकमा भनेँ मुला २ ठाउँ पोइला गएनी ल्याउँछु, धेरै नबोल । हरि मलाई हरि हेरेको हेरै भयो ।
सायद माया बस्दा बोल्नै पर्छ भन्ने नहुनी रहेछ । एकतर्फ माया भए पुग्यो । सायद भक्ति र माया पर्यायवाची हुन् । सदरमुकामको प्रतिक्षालयमा बसेको छु । त्यसैलाई प्रत्यक्ष हेर्न भनेर ।
फोटो हेरेर हुन्न है । केटी आफ्नै आँखाले हेर्न पर्छ । माईजु र म कुरागर्दै हिँडेकाछौँ । हुग्दी खोलाको पुलमा पुगेर हेर्छु । पारी पट्टिको सेतो बिल्डिङ्ग, जहाँ दिलकुमारीले पढ्दै छिन् । भुँईमा आँखा पर्छन् । हेर्छु उद्घाटन नहुँदै भत्केको पुल देख्दा देशको अवस्था देखेर पछुतो लाग्छ । कतै मेरो यहि पुलको जस्तै हालत हुने पो हो कि।
ज्ञवाली होटलमा चिया खाएर बसेको मान्छे म, घरिघरि क्याम्पसतिर नजर डुलाउँछु अनि हेर्छु ११ बजेतिर दुइटी सँगै झरे । कालो ड्रेसवाली चाँही मस्कीदै थिई । अर्की अलि सानै उमेरकी झैँ लाग्थ्यो । लुकेर हेर्न गाको मान्छे म, मन चञ्चल भयो । बोलौँबोलौँ लाग्यो ।तर बोल्ने सामर्थ भने ममा रहेन।
ज्ञवाली होटलको बाहिर डिलमा बस्दै चिया पिउँदै गर्दा नजिकै आएपछि एक्कासी बतासिए । जसरी वनमा शिकारी देखेपछि मृग बतासिन्छ । पुल नकटुञ्जेल हेरिरहेँ । देखिन छोडेसी हातको चियामा हेर्दा झिँगा फटफटाउँदै थियो । त्यसको उद्धार गरिदिएँ ।
नराम्रोलाई नराम्रो भन्नु अपराध होईन । यो त परम्परा नै हो । आशाका किरणहरु अस्ताएपछि कोठामा रहेको ऐना टल्कियो । झलक्क ऐना हेर्दा जँड्याहा, हावा, गरिब, ट्यापे लगायतका अनेकौँ स्वरुपले गिज्जाएझैँ लाग्यो । तर ऊ आज सम्म पनि मेरी हुन सकिन खै कसकी भएकी हो ? पोहोर साल गाउँतिर जादाँ बच्चा काखमा समातेर हिडेकी थिई । सम्झना आईरहन्छ पहिलो माया भनेको पहिलो माया नै रहेछ, जो जीबन भर नमेटिने हुँदो रहेछ ।
No comments:
Post a Comment