एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो। परिपक्क उमेर भएकाले चारै तिरबाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग बिबाह पनि हुन्छ, तर उ प्रायजसो उदास रहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिरबाट जे देखिन्थ्यो त्यो कुरा साँचो थिएन। घर ठूलो भएर के गर्नु लाखौं ऋणमा डुबेको थियो, त्यस माथी बिहेको खर्चले थपिएको ऋणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो पनि जन्मियो र हुर्कँदै गयो। कहिल्यै खाली नबसी परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋणको सावाँ घटाउने त कुरै छोडौं।
यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।कुनै दिन उनले थाहा पाईन् भने के हुन्छ होला भन्ने पिडाले पनि सताउँथ्यो उस्लाई। तर घरको समस्या कसैसँग सेयर कैलेपनी गर्दैनथ्यो।
एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ।
दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्र पैसा पठाउँथ्यो, बाँकी पैसा ऋण लिएकाहरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेकोछु आएपछि केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब ऋण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडीबाट लड्न पुग्छ । हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन् । डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछि उसलाई अापत् पर्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।
श्रीमतीले बैंक गएर पैसा निकालौँभनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन् बिचरा उ केहि बोल्न सक्ने अवस्थामा नै छैन। उ कहाँ जाँदैछ भन्ने कुरा पनि त्यत्ती मेसो पाईरहेको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतीले एटिएमबाट पैसा निकाल्छिन्। उ हेरेको हेर्यै हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउँछिन्, सबै जना चिन्तित भैरहेको अवस्थामा एकैछिन् पछि भित्रबाट डाक्टर आउँछन् अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन् ।
अनि श्रीमतीले भन्छिन् “हजुरको पीडा मैले बुझेकोछु सोनु,यो हजुरले नै पठाउनुभएको पैसा हो, मैले घरमा बस्दा मेसिन चलाएर,फुर्सदमा अरुको मेला गएर अनि आईपरेका कामहरु गरेर अलिअली कमाउँथे ,त्यसैले घर खर्च चल्थ्यो, हजुरले पठाएका सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रोसँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्र हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भएका थियौं, हाम्रा सबै अाफन्तहरु र समाजलाई साँक्षी राखेर हरेक सुख-दु:खमा साथ दिने भनेर बाचा गरेका थियौं, त्यो दिन हजुरबाट पाएको यो उपहार चाहे जे सुकैले बनेकोहोस् मेरो लागि हिरा-मोति भन्दा कम छैन ।”
उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतीलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमतीले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकै पलमा हराएको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस्, सुख दु:ख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कहिल्यै नछुट्टिने, कहिल्यै बिदेश नजाने अठोट गर्छ र खुसी साथ जीवन बिताउँछन्।.
No comments:
Post a Comment