एकजना वृद्ध आफूलाई ताराहरुलाई हेरेर मानिसको भविष्य भनिदिन सक्ने दाबी गर्थे । उनको ध्यान जतिबेला पनि ताराहरुमा हुन्थ्यो । त्यसैले ताराहरु आकाशमा उदाएपछि उनी घर बाहिर निस्कन्थे । कहिलेकाहीं गाउँलेहरुलाई जम्मा गरेर ती ताराहरु हेर्दै उनीहरुको भविष्य भनिदिन थाल्थे ।
एक रात ती वृद्धले झ्यालबाट तारा हेरिरहेको समयमा एउटा तारा खस्दै गरेको देखे । त्यसपछि उनी हतार-हतार गर्दै छिमेकीलाई बोलाउंदै बाहिर निस्के । ताराहरुलाई हेर्दै छिमेकीलाई बोलाउंदै हिंडेका उनी एउटा ठूलो खाडलमा परे । छिमेकीले चर्पी बनाउनको लागि खनेको त्यो खाडल निकै गहिरो थियो । ताराहरु हेरेर छिमेकीको भविष्य बताउन निस्केका ती वृद्ध आफै खाडलमा परे ।
छिमेकीले खासखुस गर्न थाले ,” हाम्रो भविष्य बताउन निस्केका बाजेलाई आफ्नै आजको भाग्य थाहा रहेनछ ” ।
भविष्यलाई दिमागमा राख्नुहोस् , तर वर्तमानमा केन्द्रित हुनुहोस् । यदि तपाईं भविष्यमा मात्र केन्द्रित रहेर भविष्यकै सपनामा डुबेर मात्र हिंड्नु भयो भने वर्तमानको खाडलमा पर्न के बेर ? त्यो भविष्यसम्म पुग्न त तपाईं आज सकुशल रहनुपर्यो नि होइन र?
No comments:
Post a Comment