Wednesday, May 13, 2020

प्रेरक कथा - मूल्य

एक दिन एउटा चेलाले गुरुको नजिकै गएर सोध्यो ।

चेला :”गुरु ज्यू, मलाई यो बताई दिनुस्, कि मान्छेको बास्तबिक मूल्य कति हुन्छ?”
उसको कुरा सुनेर गुरुले आफूसंग रहेको एउटा चम्किलो पत्थर त्यो चेलालाई दिएर भन्यो ।
गुरु :”बाबु, तिमी यो पत्थर लिएर बजारमा जाउ र यस पत्थरको मूल्य बुझेर आउँ तर याद राख्नु कि तिमीले यो पत्थरलाई बेच्न पाउनेछैनौ ।”

गुरुको निर्देशन बमोजिम त्यो चेला त्यस ठाउँको सबैभन्दा ब्यस्त बजारमा गयो र त्यहाँका मान्छेहरुलाई एक एक गरि अाफूसँग भएको पत्थरको मूल्य सोध्न थाल्यो ।

तरकारी पसले :”त्यो पत्थर मलाई देऊ र यो एक डोको तरकारी लिएर जाउ।”

आलु पसले :”भाई त्यो पत्थर मलाई दिए म तिमीलाई सय धार्नीकोआलु दिन्छु”

ब्यापारी :”म तिमीलाई रु ५० लाख दिन्छु, त्यो पत्थरको बदलामा”

अर्को ब्यापारी :”म तिमीलाई रु १ करोड दिन्छु, मलाई त्यो पत्थर बेच “

हिरा ब्यवसायी :”यो संसार कै सबैभन्दा दुर्लभ हिरा हो । संसारभरीकै सबै सम्पत्तिहरु दिदाँ पनि यो हिरालाई किन्न असंभव छ !”

त्यो चम्किलो पत्थरको मूल्य बजारमा भेटिएका सबै मान्छेहरुले फरक फरक बताए । जुन कुरा त्यो चेलाले गुरुलाई सुनाए । गुरुले सबै कुरा ध्यानपूर्वक सुनिरहेका थिए । अन्ततः गुरुले मुहारमा मन्द मुस्कानका साथ बोल्न सुरु गरे ।

गुरु :”बाबु, तिमी पनि त्यो बहुमूल्य पत्थर जस्तै हौ । संसारमा मान्छेहरुले आफ्नो औकात, क्षमता, स्वार्थ र ज्ञान अनुसार तिम्रो मूल्य लगाउने गर्छन् । त्यसैले कसैले तिमीलाई १ डोको तरकारीको मूल्य बराबरको ठान्छ भने तिमीले बुझ्नु पदर्छ कि त्यो मान्छेको हैसियत नै १ डोको तरकारी बराबरको मात्र रहेछ । जसरी पत्थरको मूल्य बुझ्ने मान्छे पाउन समय लाग्यो नि , त्यसरि नै तिमीले पनि एकदिन तिम्रो बहुमूल्यतालाई बुझ्ने मान्छे अवश्य भेटाउनेछौ ।”
———————

No comments:

Post a Comment