सदा झैं म साथीहरू संग च्याट गरेर बसिरहेको थिएँ । एक साँझको कुरा हो, जसलाई मैले केहि महिना देखि मनमा सजाउन थालेको थिएँ, उनैको म्यासेज आयो । एकासी हाई भनेर, अनि म छक्क परेँ, कस्तो अचम्म है, यतिका दिन नबोलेको मान्छे आज एक्कासी आएर आफैँ बोलाइन्, जसलाई सम्झेर अनि कल्पना गर्दै उनको तस्बिर हेरेर दिन बिताउने गर्दथेँ । उनीसंग आज देखि बोल्न पनि पाएँ भनेर खुशीले मनै फुरुङ्ग भयो र म खुशीले नाच्न थालेँ ।
हाई, हेल्लो, सन्चो-बिसन्चो यस्तै कुरामा पहिलो दिन नै कति धेरै कुरा भयो हाम्रो । च्याट गर्दागर्दै उज्यालो भएको पत्तै भएन । लागेन कि म उनीसंग पहिलो चोटि बोल्दैछु । पुरानो प्रेमी कति धेरै पछि कुरा भएजस्तो अनुभुती भइरहेको थियो ।। एक दिनमै हामी निकै नजिक भइ सकेका थियौं । दिन प्रतिदिन कुरा हुँदै गयो उनको तस्बिर देखि त म पहिले नै आकर्षित थिएँ । बिस्तारै बोली वचन र ब्यवहार पनि मैले चाहेको र खोजेको जस्तै लाग्यो अझ आकर्षित हुँदै गएँ म उनी प्रती । आखिर उनी मेरो पहिलो प्रेम थिइन् । त्यसैले निकै लगाब बढ्दै गयो । मैले मात्र हैन उनले पनि मलाई निकै माया दिइन्, कुरा गर्दै जाँदा मैले उनलाई मेरि सानु भनेर सम्बोधन गर्दा उनी खुशी हुन्थिन् तर पनि उनी मलाई 'किन यस्तो नामले बोलाउनुभएको ? मलाई मन पर्दैन यस्तो नाम' भन्दै रिसाए झैं गर्दिन्थिन्। उनी कहिले रिसाए जस्तो त कहिले खुशी हुन्थिन् । सायद आफ्नो मान्छे भएर होला।
उनी रिसाएको थाहा पाउने बितिकै म 'मेरि सानु सुन न' भनेर अनेक-अनेक भनेर फकाउन थाल्थेँ । अनि उनी 'ल ल भयो भयो नक्कल नपार्नु ' भनिदिन्थिन् । अनि म 'मेरि रानी कति सताउँछ्यौ? कुनै दिन म रहिन भने कसलाई सताउँछ्यौ?' भन्दै हाँस्ने गर्थेँ। अनि उनी केही बोल्नै नसकि चुपचाप सुनिरहन्थिन् । यस्ता शब्दले कता कता दु:ख माने झैं गर्थिन् उनी। 'लाटी जिस्क्याएको हो । दुखी नहुनु' भन्दै अरु कुरा निकाल्ने गर्थेँ म। यस्तै – यस्तै अनेकौं मायाका कुरा हुँदै गए । हामी हाम्रै मायामा डुब्दै गयौँ।
अलि समयपछि मैले भिडियो कल गरौँ सानु भनेर भनेँ । उनले झसङ्ग हुँदै भनिन् 'अहँ हुदैन किन भिडियो कल गर्नु पर्यो र? मैले भनेँ 'मैले मेरै मान्छे हेर्न सम्म नपाउनु ?' उनले 'अहँ हुँदैन' हुँदैन' भनिन् मैले मायाले बार-बार कर गरेपछि उनले पनि हुँदैन भन्न सकिनन् । 'ठिकै छ भोलि भाइबरमा कल गर्नुस्' भनेर बिदा लिइन् । खाना खाएर कोठामा गएँ । सुत्ने बेला भएको थियो मनमा अनेकौं कुरा खेल्न थाल्यो मनै न हो ।
अनेक अनेक सोच्न पुगेँ कतै भिडियो कलमा देखेपछि मन नपराउने पो हो कि अनि भोलि देखि बोल्नै छाडिन् भने म के गर्नु ? यस्तै यस्तै डर त्रास र खट्पटीले रात भरी निदाउनै सकिन ।
भोलि पल्ट दिउँसोको समय थियो । मैले भाइबरमा कल गरेँ ।
उनले नजर जुधाएर हेर्न बोल्न सकिनन् । छोरी मान्छे भएर होला अलिक लजाइन् उनी । अनि मैले सधैं झैं जिस्काउँदै मुसुक्क हाँसेर भनेँ 'नलजाउन मेरी क्युटी यता हेर न भने' । अनि उनले अझ लजाएर फोन थप्पक काटिन् । अनि 'अहो! रात भरी अनेक थरी सोचेँ बेकारमा । म पनि अचम्म कै छु भन्दै हाँस्न थालेँ । उनको लज्जा देख्दा पक्कै उनलाई पनि म मन परेको रहेछु' भनेर ढुक्क भएँ ।
समय बित्दै गयो कुरा हुँदै गयो हामीले करिब २ बर्ष पछि बिबाह गर्ने निर्णय गर्यौं ।
कहिल्यै हामी बिच मनमुटाव भएन। उनी रिसाउँदा मैले फकाउँथेँ , अनि म रिसाउँदा उनले फकाउँथिन् । कहीँ कतै मायामा कुनै शंका भएन एक अर्का प्रति । साँच्चै अति सुन्दर थियो त्यो पल जहाँ उनी थिइन् मेरि रानी ।
न त उनले कहिल्यै शंकाको नजरले हेरिन्, न त मैले स्वार्थको नजरले हेरेँ । बस हामी एकअर्कालाई
निस्वार्थ प्रेम गर्थ्यौं । मानौं अथाह प्रेम, हाम्रो प्रेमको कुनै सिमा थिएन ।
मैले कहिले भेट्छु भनिन र उनले पनि कहिल्यै भेट्ने चाहिनन् । यदि चाहेको भएपनि असम्भव थियो हाम्रो भेट । किनकि म राजधानीमा बस्ने अनि उनी पूर्व नेपाल । त्यसैले सम्भब नै थिएन हाम्रो भेट तर टाढा भए पनि हामीलाई कहिल्यै टाढा छौं जस्तो महसुस नै भएन।
दुइ बर्ष बिति सक्दा पनि हामी पहिले झैं थियौं । हामी बिच उतिकै प्रेम थियो । हामी नवोलेको कुनै दिन हुँदैनथ्यो । हरेक कुरामा उनी मेरो साथ हुन्थिन् र म उनको साथ हुन्थेँ हामी एक अर्का बिना जीवन सोच्दा पनि सोच्दैनथ्यौं ।
उनको साथ उनको माया , आहा ! साँच्चै अद्भुत थियो । म कल्पना सम्म गर्न सक्दिन, कि मैले यति धेरै माया गर्ने मायालु पाउँछु भनेर । जब देखि उनी मेरो जिन्दगीमा आइन्, तब देखि मैले कुनै पल एक्लो महसुस् गरिन।
हामी खुशी थियौं आफ्नै संसारमा । एक दिनको कुरा हो खै किन उनी एकदमै निरास थिइन् । मसँग बोल्न पनि मन गरिनन् । अनि मैले सोधेँ के भयो तिमीलाई भनेको मात्र के थिएँ, उनी किन चाहियो तपाईँलाई भनेर झर्किइन् । अनि मैले भनेँ 'म तिम्रो आफ्नो मान्छे हुँ । तिम्रो हरेक दुःख सुख मैले जान्न पाउनु मेरो कर्तव्य हो अधिकार हो ।' यति भन्ना साथ उनले 'अब मलाई बिर्सिदिनु' भनेर फोन राखिन् ।
म अचम्मित भएँ हैन के भएको हो उनलाई भनेर रिस रिस पनि उठे जस्तो भयो फोन गरेँ उठेन । अर्को दिन पनि फोन गरेँ उठेन । निकै चिन्तामा परेँ म कसलाई सुनाउँ, कसलाई भनौँ ? मन एकदमै आत्तिएको थियो । तर पनि म उनको फोनको प्रतीक्षामा थिएँ । उनले एक हप्ता पछि बल्ल फोन उठाइन् । अनि भनिन् आज सम्म जे जति भयो त्यसको लागि सरि । अनि मैले 'नजिस्क न कति टेन्सन भको छ मलाई ' भनेर भनेँ । उनले सिधै भनिन् 'तपाईँको भावना संग मैले खेलेँ । तपाईँसंग प्रेमको नाटक गरेँ । सक्नुहुन्छ भने माफ गर्दिनुस् है ।'
यती सुन्नासाथ मन भक्कानिएर अायो मैले रिसको झोँकमा अनेक थरी भनेर गालि पनि गरेँ । अन्जान नै भए पनि मैले प्रेम गरेको थिएँ । साँचो प्रेम । मैले भनेँ 'तिमीलाई मैले नदेखेरै पनि माया गरेँ । त्यो पनि जिवनमा पहिलो पटक। तिमीले यो के गर्यौ' भनेर अनेक थरी भन्दै कराएँ । तर अहँ उनी बोल्दै बोलिनन् । अन्तमा उनले 'आइन्दा मलाई डिस्टर्ब नगर्नुहोला' भनेर फोन अफ गरिन्।
म उनी बिना कसरि पो रहन सक्थेँ र, बिछोडको पीडा सहन निकै गाह्रो हुने रहेछ । कति तड्पिएँ । बारबार मैले उनलाई फोन गर्ने कोसिस गरेँ । अँह उनको फोन कहिल्यै अन् भएन । न त कुनै म्यासेज न त उनको फोन लाग्थ्यो ।हप्तौं हप्ता बिती सक्दा पनि उनको केही खबर पाउन सकिन । उनकी बहिनीलाई फोन गरेँ अहँ उठेन ।
कति तड्पिएँ । आफैँले आफैँलाई धिक्कारेँ । मर्न पनि खोजेँ। तर अहँ सकिन । मर्न त्यति सजिलो कहाँ हुदो रहेछ र ।।
यति हुँदा पनि मलाई बिश्वास थियो उनले मलाई भुल्दिनन् । पक्कै फोन गर्छिन्, मैसँग फर्केर आउँछिन् भन्ने ।।
एक दिन दिउँसो २ बजे तिर होला , म उनैलाई सम्झँदै थिएँ । मन समहाल्न निकै गाह्रो भइरहेकोथ्यो भने अर्कोतिर मुटुको धड्कन निकै तेजले धड्किँदै थियो । लाग्यो कसैले बोलाई रहेको छ । कोहि मेरो प्रतीक्षामा छ ।
नभन्दै १८अौं दिनको दिन उनकै नम्बरबाट फोन आयो अनि हतार-हतार फोन उठाएँ । अनि हेल्लो पनि नभनी 'किन यस्तो गरेकी ?' भनेर भनेँ । तर फोन उनकी बहिनीले गरेकी रहेछिन् । उनले 'दाइ म बहिनी हो' भनिन् । अनि मैले 'बहिनी दिदी खै ? के भयो उनलाई किन यस्तो गरेकी दिदीले ?' भनेर सोधेँ बहिनीले 'केहि भएको छैन। मिल्छ र सक्नु हुन्छ भने तपाईं आउनुस् न यहाँ । यहि कुरा गरौंला' भन्दै address दिइन् । अनि मैले ' हुन्छ लिन आउ ल बहिनी त्यहाँ बस पार्क पुगेपछि ' भनेर फोन राखेँ । हतार हतार कपडा लाएर रात्री बसको टिकट काटेर गएँ । एकदमै रिसले आगो आगो भएको थिएँ । म गएर उनलाई गाली गर्छु भन्दै नानाथरी सोच्दै गएँ भोलि पल्ट बिहान ९ बजे म त्यहाँको बसपार्कमा उत्रेँ । बहिनी लिन आएकी रहेछिन् । अनि उनले जाउँ दाइ भन्दै लगिन्। एक तर्फी खुशी थिएँ म । किनभने त्यो हाम्रो पहिलो भेट थियो ।
कस्तो अनौठो महसुस भैरहेको थियो मलाई बहिनीले सिधै हस्पिटल तिर लगिन् अनि मैले भने 'बहिनी को बिरामी छ?' उनले भनिन् 'अंकल बिरामी हुनुहुन्छ हेरेर जाउँ न है दाई।' मैले 'हुन्छ बुनु' भनेँ हस्पिटल भित्र पसेपछि बहिनीले मलाई 'सिधै ७ नम्बर रुम भित्र जानूस् दाइ'भनिन् । म गएँ त्यहाँ उनको ममी हुनुहुँदो रहेछ, अनि बेडमा थिइन् मेरि मायालु जसलाई मैले चाहेको थिएँ उनी जीवन र मृत्यु को दोसाँधमा रहेछिन् । उनलाई ब्लड क्यान्सर भएको रहेछ बाँच्न सक्ने कुनै सम्भावना थिएन । उनलाई देख्ना साथ मैले भकानिएर अंगालो हालेँ अनि 'के भयो मेरि सानुलाई?' मात्र के भनेको थिएँ उनले मेरो हात समाएर 'मेरो राजा म तिमीलाई छोडेर जाँदै छु । मलाई बिर्सिदेउ है ।' भनेर मेरो काखमा सदाका लागि मेरो साथ छाडेर गइन् उनले ।
म भकानिएँ । मन मस्तिष्क केहिले काम गरेन मेरो अाँखाबाट आँशु बग्यो । 'मेरि रसानु, तिमी मलाई छाडेर जान सक्दिनौ । उठ न सानु' भनेर अंगालोमा बेरेँ । तर उनी फेरि उठिनन्।
मुटु छियाछिया भयो , सम्हाल्न सकिन आफूले आफैँलाई, बाँच्ने इच्छा सबै हराए , बिछोडको पीडा कसले पो सक्छ र सहन ? बिल्कुलै एक्लो भएँ म । मुटु लुछिएको थियो ,आँखाहरु रोएका थिए , संसार नै शून्य महसुस् भइरहेको थियो ।
यतिकैमा एउटा चिठ्ठी उनको सिरानीमा देखेँ । मैले हतार हतार त्यो चिट्ठी खोलेर हेरेँ । जसमा लेखिएको थियो,
मेरो राजा,
म अथाह प्रेम गर्छु हजुरलाई। बिच बाटोमै छाडेर जान त मन थिएन तर हेर्नुस् न नियतिको खेल । म हजुरसँगै हुन सकिन । हजुरको हरेक दु:ख सुखमा सहयात्री हुन सकिन । माफ गर्नुस् है । हजुरलाई मैले धेरै सताएँ होला । तर थाहा छ ? मैले गरेका ती हरेक ब्यवहार हजुरलाई म बिना नै जिउन सिकाउनका लागि थिए । मलाई धोकेवाज नठान्नुस् है मेरो राजा । म बिना जिउन गाह्रो होला हजुरलाई तर मलाई थाहा छ हजुर बहादुर हुनुहुन्छ। म नरहे पनि हजुरले हाम्रो माया जिबित राख्नुहुनेछ।।
म हजुरको जीवन साथी त हुन सकिन । तर हजुरले अाफ्नो जीवन त्यही नरोक्नु है, म भन्दा धेरै माया गर्ने जीवन साथी पाउनुहुनेछ । हजुरले रोजेर, खोजेर अरु कसैलाई जीवन साथी चुन्नुस् है मेरो राजा । घरपरिवार सबैको ख्याल राख्नु अनि आफ्नो पनि ख्याल राख्नु है । यो जन्म हजुरको हुन सकिन त के भो र ? अर्को जन्म म हजुरकै हुनेछु यो मेरो बाचा भयो । मेरो अन्तिम इच्छा पूरा गरिदिनुस् है मेरो राजा ।
हजुरले जब यो पत्र पाउनुहुनेछ अनि पढ्नुहुनेछ, त्यही बेला देखि सधैं मुस्कुराउनुस् है। हजुरको मुहारबाट मुस्कान कहिल्यै नहटाउनुहोला । जब जब हजुर मुस्कुराउनुहुन्छ नि, हो त्यही बेला म बादल पारिबाट हजुरलाई हेरेर खुशी हुनेछु । अनि हजुरको हरेक मुस्कानमा छाउनेछु यो मेरो बाचा भयो ।
उही हजुरको हुन नसकेकी सानु।
No comments:
Post a Comment