एउटा परिवारका दुई दाजुभाइ थिए । एकजना लागुपदार्थ लिन्थ्यो, खराब कामहरु गर्थ्यो भने अर्को चाहिं समाजमा सम्मानित र सफल व्यापारीको रुपमा चिनिन्थ्यो । एकै आमा बाबुले जन्माएका र हुर्काएका यी दुई दाजुभाइमा किन यति धेरै भिन्नता ? कसैले यो भिन्नताको बारेमा बुझ्ने कोसिस गर्यो।
पहिलोलाई सोधियो ,” तिमी खराबै खराब काम मात्र किन गर्छौ ?” उसले भन्यो,” मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो । बुवाले गर्दा घरमा सधै झगडा र कुटाकुट हुन्थ्यो । मैले जे देखें, त्यही नै सिक्दै हुर्किएँ ।”
फेरी दोस्रो भाइलाई सोधियो, ” तिमी यति असल छौ, यसको प्रेरणाको स्रोत के हो ?” उसले भन्यो, ” मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो र घरमा झगडा निकाल्नुहुन्थ्यो। त्यतिबेला नराम्रो लागेपनि सहेर बस्नुपर्ने हाम्रो बाध्यता थियो । मेरो बालमनमा गहिरो चोट परेछ क्यारे ! मैले, यस्तै घृणित मान्छे बन्नु हुँदैन भनेर संकल्प गरें। सायद त्यही संकल्पको प्रभाव हो यो।”
ती दाजुभाइ दुवैको प्रेरणाको स्रोत एउटै थियो । फरक यत्तिमात्र हो, कि एउटाले सकारात्मक र अर्कोले नकारात्मक प्रेरणा लियो। वास्तवमै हाम्रो परिवार, छरछिमेक र समाजमा पनि त्यस्तै कति खराब ब्यक्तिहरु हुन सक्छन् । चाहे जस्तोसुकै खराब किन नहोस्, यदि हाम्रो सोचाइ सकारात्मक छ भने हामी त्यहाँबाट सकारात्मक पाठ सिक्न सक्छौं । त्यस कारण हामीले पनि अाफूमा सधैं सकारात्मक सोचाइको बिकास गरौँ ।
No comments:
Post a Comment