म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थेँ । तर आज अचानक पत्रिकामा परेको मेराे नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउँथ्यो र ? राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्रै हो । मैले प्रत्यक्ष देखेको भने थिइन । साउदीका हरेक पत्रपत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । कालो बुर्का लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान्।
आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनीमा हामी दुबै जना सँगै काम गर्थ्यौँ। हामी, मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौँ ।
राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उसले सप्लाइको क्रममा साउदीका घरघरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो ।
राज सधैँ उनको बारेमा बताउँथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफैँ थकित हुन्थेँ, त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफैँ अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो भनेर । मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ ।
मैले "रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनि बिषादीको पनि अध्ययन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज । यहाँको कानुन तैँले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्।" भनेर भन्दा राजले भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिनपरे पनि म तयार छु । उनले दिएको यति माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौँ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यहीँ मर्न लेखेको छ भने म पराइकै माटोमा मरौँला । हो, मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला,चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त बिदेशको माटोमा पुरीँदा म अभागी ठहरीनेछु तर पनि माया भनेको माया हो ।
नेपाल रहँदासम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल, जो होगा देखा जाएगा ।"
नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरुभुमीको राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थेँ ।उनिहरुको प्रेम झाँगिदै थियो ।कहिले भेटेर त कहिले फोनबाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो ।
म कहिलेकाँही जिस्क्याउँथेँ “राज तेरो त काम तमाम भो, भाउजुसँग मलाइ नि कुरा गरा न त यार। म पनि यसो सुनौँ मेरी भाउजुको स्वर, जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउँथ्यो ,उताबाट आवाज आउथ्यो “मिन हुवा ?" अर्थात् "को हो?" राजले नरम भएर जवाफ दिन्थ्यो“सदीग् बिशाल" अर्थात् "साथी बिशाल।" उनीहरुको कुरा कति खेर सकिन्थ्यो मैलै कहिल्यै पनि थाहा पाइन ।
म आफ्नै दुनियाँमा ब्यस्त हुन्थेँ उनीहरु आफैँभित्र हराउँथे । एक कान दुइ कान मैदान हुँदै उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा-आमाले पुलीसमा कम्प्लेन गरे ।ठूलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसीको सजायँ सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेर मलाइ भनेको थियो "राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।" मैले "किन हेर्नु राज ?" भन्दा राजले भन्दै थिए , "सायद तैँले नै उल्था गर्नु पर्ला बिशाल ।"
मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रत्यक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राजसँग अब अन्तिम पटक भेटेर फर्कँदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाउँ छाडी रहेको थियो । मैले इश्वरलाई लाख बिन्ती गरेँ तर पनि इश्वरले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउँदै राजबाट छुट्टिएर गाडीसम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्टमेन्टसम्म आँए ।
मैले हतार हतार राजको पत्र खोँले अनि पढ्न थाँले । जहाँ यस्तो लेखिएको थियो ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख्मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु।
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनि अनौठो सपना देख्थेँ । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वरसँग दोहोरी खेलाउने ठूलो धोको थियो ।
तिमीलाइ थाहै छ नुर मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ । त्यहाँको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।अनी म तिम्रो हात समाएर सबैको सामु भन्थेँ।
“आना हेब ईन्त नुर” अर्थात् "म तिमीलाइ माया गर्छु नुर ।" हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए अनि प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।आशा छ भर छैन यो भाग्यको । इशवरको मर्जी न हो, जे चाहन्छ उही हुन्छ । तिमी इशवर भन्दा बुझ्दिनौ होला ।तिमीले इशवरलाइ “अल्लाह” भनेर चिन ।
इशवर भन या अल्लाह भन, एक नै हुन् मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र म जहाँ जन्मिएँ, जुन संस्कारमा जन्मिएँ,
उही तरीका ले बाँचेँ ।
कसको निधारमा लेखीएको हुन्छ र यो मुश्लिम,यो क्रीश्चीयन वा यो हिन्दु भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर इश्वर एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो इश्वर मानवता हो । तिम्रो बाबाको जस्तो अल्लाह मेरो इश्वर होइन । हाम्रो प्रेमलाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कति मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरु यहाँ हेपीएका अनि चेपीएका तितो यथार्थ छ । मान्छे आखीर मान्छे नै हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भन न जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
काटे रगत त रातै आउँछ नी हैन र नुर ? कि हिन्दुको रगत रातो अनि मुश्लिमको सेतो, हरियो हुन्छ ? तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सधैँ पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरु पुर्ण हुन्थे ।
उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीलाइ त माया गर्न आउँछ नी है ? तिमीसँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन, अनि चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न पनि नपाइएला की भन्ने डर पनि छ । त्यसैले हाम्रो भेट अब सक्नुपर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु।हाइयाक्अल्लाह या नुर,मासलाम ।'
"बिशाल दाइ के छ हो आजको हट न्युज ?" बिगतलाई सम्झेर एकोहोरिएको म झसङ्ग भएँ । सँगै काम गर्ने कुञ्जन भाइ रहेछ । "आजको न्युज बबाल छ कुन्जन।" "के छ दाजु सुनौँ न त हामी पनि ।" "नुरले आत्महत्या गरीछे यार ।" "को नुर रु राजकी नुर ? " "अँ हो ।"
"त्यसले यतिका पछि किन आत्महत्या गरी त ?" "थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला ।" मेल नयाँ ठेगानाबाट आएको थियो । मैले अल्मलीँदै खोलेँ ।अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भनेँ ।
"यार भाइ, कसरी पढ्ने यो मेल ? अरबीमा छ त ।" उसले हाँस्दै भन्यो "दाइ हजुर पनि, नेटबाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ?" मैले आज खासै सोच्न सकिरहेको थिइन । अनी "हो त नी है ?" भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।
लेखिएको थियो ‘नमस्ते ! देवर बाबु, सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबैतिर बन्देज लगाइएको थियो ।आज मात्र सबै थोकबाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेरे लगत्तै राजको पत्र पनि पाँए । उहाँसँग मैले पनि पत्रमा भेटेँ ।
बिशाल बाबु, हजुरहरुले त मलाइ निष्ठुरी भनेर सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु, मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो। अनी गर्नेछु त त्यो पनि राजलाइ नै। सत्यता थाहा नपाउँदासम्म त राजसँग भेट्ने आशा जिउँदो थियो तर सबै थाहा पाए पछि मैले जिउनुको अर्थ देखीन ।
म मेरो जिन्दगी अब अरुको नाममा कसरी गरौँ बिशाल बाबु ? मेरा आमा बाबा चाहनुहुन्छ म अरु कसैसँग बिबाह गरौँ । तर राजलाइ सुम्पिएको यो तन-मन कसरी म जिउँदै मरेर अरुलाइ सुम्पँदै राजको मायालाइ अपहेलना गरौँ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । ताकि म पनि मेरो प्यारो मान्छे राजसँगै अर्को संसारमा हुन सकुँ ।
मैले यो यो निर्णय गरेर गल्ती त गरीन नी है बिशाल बाबु ? यदि मबाट कुनै गल्ती भए मलाइ माफ गर्नुस् ल बिशाल बाबु । हवस् त, बिदा!
उही हजुरको हुन नसेकी भाउजु ‘नुर’